१६ असोज, जनकपुरधाम । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) का युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित अन्य जिल्लाका सदरमुकामहरुमा पार्टी निकट विद्यार्थी तथा युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।
मसाल प्रदर्शन गर्ने क्रममा उनीहरुले जनकपुरधाममा अख्तियारविरुद्व नाराबाजी गरेका थिए । ‘ओलीको अख्तियार गुण्डा मुर्दावाद, मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार मुर्दावाद, मधेश बिरोधी अख्तियार प्रमुख राजीनामा दे’ सहितका नारा लगाएका छन् ।
स्थानीय रेल्वे स्टेशनबाट निकालिएको मसाल जुलुस जनक चोकमा गएर टुंगिएको थियो ।
त्यस्तै, सप्तरी सदरमुकाम राजविराजमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस जनआन्दोलन चोकमा गएर टुंगिएको थियो ।
अख्तियारले छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो । विरोधका कार्यक्रम अन्तर्गत आइतबार जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिने जसपाले जनाएको छ ।
प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो ।