मान्छे बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्छ कि फर्किदैन त्यो टुङ्गो हुँदैन । आफ्ना गतिविधिहरु सञ्चालन गर्ने क्रममा सबै कुराहरु आफूले सोचेअनुसार हुन्छ भन्ने हुँदैन। हामी चाहन्छौ त्यस्तो दुर्घटना त नहोस्, तर कहिलेकाहीँ दुर्घटना पनि हुन सक्छ र भइहालेमा आफ्ना सन्तती या आफूले पालनपोषण गर्नुपर्ने मान्छेहरुको पनि भोलिको जीवन सुरक्षित रहोस भन्ने हिसाबमा जीवन बीमा गर्ने गरिन्छ । भन्नाले बीमा बचत पनि हो, सुरक्षा पनि हो र जोखिम हस्तान्तरणको माध्यम पनि हो । बीमा बचत हो र बीमा जोखिम हस्तान्तरणको माध्यम पनि हो। मान्छे जहिले पनि जोखिममा रहिरहेको हुन्छ र अनिश्चिततामा रहिरहेको हुन्छ र जहाँ अनिश्चितता हुन्छ त्यहाँ बीमाको महत्व हुन्छ ।
जसले आर्थिक उपार्जन गरिरहेको हुन्छ, उसको बीमा गर्न बढी आवश्यक हुन्छ । जसले कमाइ रहेको उसले बीमा गर्नु राम्रो हो । बीमा अनिवार्य बचत हो । बैंकको पैसा आवश्यक पर्यो भने हामी तुरुन्तै झिक्न पनि सक्छौं । तर बीमामा जति अवधिको बीमा गरिएको हुन्छ, त्यो अवधिसम्म क्रमशः तोकिएको प्रिमिय जम्मा गर्दै गइरहेको हुन्छ र निश्चित अवधिपछि हामीले फिर्ता पाउँछौं । फिर्ता पाउँदा जम्मा गरेको रकमभन्दा कम्पनीले तोकेको अनुसारको बोनस सहित फिर्ता पाउने हुँदा त्यो एक खालको बचत हो। यो फिर्ता पाउँदै आफैंले पनि लगानी गर्न सकिने र बीमा कम्पनीले प्रिमियमको रुपमा सङ्कलित रकम अन्य उत्पादित क्षेत्रमा लगानी गरेको हुन्छ । अहिले कुल जनसंख्याको झण्डै २५ प्रतिशत नागरिक बीमाको दायरामा आउनु भएको छ । राष्ट्रिय बीमा संस्थानको कुरा गर्ने हो भने जीवन बीमा कोषको क्षेत्रमा हाम्रो योगदान १० प्रतिशत रहेको छ भने कुल प्रिमियम संकलनमा १२ प्रतिशत राष्ट्रिय बीमा संस्थानको योगदान रहिआएको छ ।
बीमामा सबैभन्दा बढी चल्ने भनेको सावधिक जीवन बीमा हो।निश्चित समयपछि जुन रकम बोनस सहित लिइन्छ, त्यसलाई सावधिक जीवन बीमा भनिन्छ । यसलाई ईन्डोमेन्ट प्रडक्ट पनि भनिन्छ । सावधिक जीवन बीमामा सेवाहरुको आधारमा विभिन्न नामहरु दिएर सब प्रडक्टहरु पनि हुन्छन् । अहिले जीवन सुरक्षा भन्ने प्रडक्ट धेरै बिक्री भइरहेको छ । बालबच्चाको बीमा पनि हुन्छ । श्रीमान श्रीमतीको लागि जीवनसाथी बीमा पनि छ । यस्तै कर्जा रकमको मात्र बीमा गर्न पनि मिल्छ । कर्जाको मात्र वा कसैले ऋणको मात्र बीमा गर्यो भने यसको प्रिमियम एकदमै सस्तो हुन्छ र ऋण तिर्न नसकेमा कम्पनीले तिरिदिन्छ । तिर्न नसक्ने अन्य कारणले होइन की बीमा गर्नेको मृत्यु नै भयो भने मात्र कम्पनीले त्यो ऋण तिरिदिन्छ ।
बीमामा ऋण कर्जामा लिने व्यवस्था पनि हुन्छ । तर यस्तो बीमामा ऋण लिन पाईंदैन र अवधिपछि एकमुस्ट बोनस सहित रकम पाइन्छ । राष्ट्रिय बीमा संस्थानमा सामुहिक बीमा पनि गर्न मिल्छ । जस्तै कुनै संस्थामा काम गर्ने सम्पूर्ण कर्मचारीको सामुहिक बीमा गर्ने व्यवस्था छ । अहिले नेपाल सरकारको सबै राष्ट्रसेवकहरु, निजामती, शिक्षक, सेना, प्रहरी, सशस्त्र सबैको सामुहिक बीमा हाम्रो राष्ट्रिय बीमा संस्थानमा भइरहेको छ । विद्धुत प्राधिकरण, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक, कृषि बैंक जस्ता धेरै कम्पनीहरुको सामुहिक बीमा हामीहरुमा छ । यस्ता संस्थाहरुमा कार्यरत कर्मचारीहरुको पनि संस्थाले दिएको कर्जाको पनि बीमाको व्यवस्था हामीले गरिरहेका छौं ।
जीवन बीमा गरिसकेपछि तीनवटा अवस्थामा यसको दावी गर्न मिल्छ । एउटा बीमाको अवधी सकिएपछि बीमा दावी पाउँछ । अर्को समर्पण मूल्य लिने भनिन्छ अर्थात अवधीअघि नै रकम आवश्यक भयो भने वा अरु प्रिमियम तिर्न नसक्ने भयो भने बीमा दावी गर्न सकिन्छ । एउटा फर्मुला लगाएर जति फिर्ता आउँछ, त्यो रकम दावी गर्न सकिन्छ । अर्को भनेको मृत्यु दावी भुक्तानी हो, जसमा साँच्चै मृत्यु भएको हो कि होइन भनेर पुष्टि गर्नु पर्ने हुन्छ ।
बीमा भनेको कन्ट्रायक्ट हो । कुन बीमा लिएको, कतिको पाइने हो, केके कागजसहित बीमा गर्नुपर्ने हो र दावीको लागि केके कागज चाहिन्छ पहिले नै खुलाइएको हुन्छ र त्यसको जानकारी लिएर मात्र बीमा गरियो भने पछि समस्या आउँदैन । हाम्रो देशमा कमिसनको लोभमा, आम्दानीको लोभमा गलत खालको सूचना प्रवाह गरेर पनि बीमा बेचिरहेको हुन्छ । जसले गर्दा ग्राहक कन्फ्युजनमा परिरहेको हुन्छ ।
सबै कम्पनीका बोनस दर, प्रिमियम रेट एउटै हुँदैन, त्यसैले सबै कुरा बुझेर, पढेर, अध्धयन गरेर मात्र बीमा गरेमा राम्रो हुन्छ । बीमा गर्न थालेको २ वर्षपछि ऋण लिन पाइन्छ । हाम्रो कम्पनीको कुरा गर्दा समर्पण मूल्यको ९० प्रतिशत ऋण लिन पाइन्छ । स्वास्थ्य बीमा छुट्टै त हुन्छ, तर जीवन बीमामै थप सुविधाको रुपमा पनि स्वास्थ्य बीमा लिन पाइन्छ । घातक रोग लाग्यो भने बीमा रकम दिन्छांै भन्छन्, तर यो कम्पनी अनुसार फरक फरक हुन्छ । हरेक कम्पनीले कुन रोगलाई घातक रोग मान्ने र कस्तो अवस्थामा उपचार खर्च गर्ने व्यवस्था गरेको हुन्छ । राइडरको रुपमा लिएको छ भने पाइन्छ, नत्र पाईंदैन ।
हरेक कम्पनीको आआफ्नो पोलिसी हुन्छन् । त्यसकारण कस्तो खाले बीमा गर्न चाहेको हो, बालबच्चालाई हो कि आफैंलाई हो कि, प्रिमियम तिरिसकेपछि बीचबीचमा किस्ता लिंदै गर्ने खालको बीमा गर्ने हो कि । त्यसैले आफ्नो आवश्यकता अनुसारको, आम्दानीको स्रोतको आधारका कुराहरु बीमा रोज्ने हो र भुक्तानी प्रकृया बुझेर मात्र बीमा गर्नुपर्छ । जीवन बीमामा बेफाइदा केही छैन र आफूले सकेअनुसारको बीमा लिएमा राम्रो हुने कारणले सबैलाई बीमा गरौं भन्न चाहान्छु । जति कम्पनीमा जति रकमको बीमा गर्न सकिने भएको कारणले एक पटक गरिसक्नु भएको छ भने दोस्रो पटक गरौं, तेस्रो पटक फेरि गरौं । गर्नुभएको छैन भने एक पटक गरौं, परिवारको सदस्यको गरौं ।